वि.सं:
नेपाल संवत: ११४६ चिल्लागा तृतीया - १८
क. हुलाक सेवाको परिचय:
सूचना तथा संचार जगतको ऐतिहासिक एवं युगान्तकारी तथा विश्वव्यापी रुपमा सञ्चार स्थापित गर्ने एक मात्र सर्वप्राचिन माध्यमको रुपमा हुलाक सेवा परापुर्व कालदेखि सेवा प्रवाह गर्दै आएको कुरा सर्वविदितै नै छ । वि.सं. १९३५ मा नेपाल हुलाक घरको स्थापना भई निरन्तर रुपमा हुलाक सेवा प्रदान गर्दै आएको नेपालले सुरुमा चिठी पत्र मात्र ओसार पोसार गर्ने गरेकोमा पछि आएर हुलाक सेवा को कार्यक्षेत्र को सञ्जाल विस्तारको क्रममा पुलिन्दा लगायतका सेवालाई समेट्दै पछिल्लो चरणमा आएर EMS सेवा उपलब्ध गराईरहेको हुलाक निरन्तर रुपमा आफ्नो कार्यक्षेत्र विस्तार गर्दै करीब ४ हजार हुलाक कार्यालयहरुबाट हुलाक सम्बन्धी सेवा प्रवाह गर्दै आइरहेको छ ।हुलाक ऐन २०१९ तथा नियमावली २०२०, लगायतका नीतिगत आधारमा सञ्चालित नेपालको हुलाकले एकातर्फ जनताको घरदैलोमा पुगेर चिठीपत्र ओसारपसार गर्ने हुलाकको परम्परागत कार्यलाई पनि छाड्न सकेको छैन अर्कोतर्फ निजिक्षेत्र प्रतिस्पर्धी रहेको EMS जस्तो नितान्त व्यवसायिक सेवालाई समेत सञ्चालन गर्दै आइरहेको छ ।
ख. जिल्ला हुलाक कार्यालय, अर्घाखाँचीको परिचय:
अर्घाखाँची जिल्लाको सदरमुकाम ठाडाबाट वि.सं. २०३२ मा सन्धिखर्कमा स्थान्तरण भएलगत्तै सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत हुलाक सेवा विभागको मातहतमा रहने गरि स्थापना भई आफु मातहतका १२ इलाका हुलाक कार्यालय र २९ अतिरिक्त हुलाक कार्यालयबाट समेत माथि उल्लेख गरे बमोजिमका सेवाहरु निरन्तर रुपमा प्रवाह गर्दै आइरहेकोमा हाल कार्यालय अन्तर्गत जिल्लाका ६ वटा स्थानिय तहहरुमा जिल्ला हुलाक कार्यालय सँगै ५ वटा पालिका हुलाक कार्यालयहरु र 2० वटा अतिरिक्त हुलाक कार्यालयहरु सञ्चालित छन् । साथै बदलिदो नविन सूचना तथा सञ्चार प्रविधी सम्बन्धी नेपाल सरकारले समयसमयमा अवलम्बन गरेका नीतिगत निर्णयहरु लाई कार्यान्वयन गर्दै आइरहेको छ ।
नेपालको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले मुलुकलाई संघ, प्रदेश र स्थानीय गरी तीन संघीय तहमा विभाजन गरेको सन्दर्भमा हुलाक सेवा तथा कार्यालयहरु संघीय सरकारको दायित्व अन्तर्गत पर्दछन्। जिल्ला हुलाक कार्यालय स्थापना भएपश्चात कार्यालयले चिठीपत्र एवं पार्सलहरु ओसारपसार, टिकट विक्री वितरण, आन्तरिक ट्रयाकिङ्ग प्रणाली (PITS) सञ्चालन कार्यहरु सम्पादन गर्दै आईरहेकोमा यस सम्बन्धी सेवा तथा कार्यहरुमा विस्तार हुँदै जिल्लामा सञ्चालित इजाजतपत्र प्राप्त एफ.एम. तथा केवल नेटवर्क, पत्रपत्रिकाहरुको नवीकरण गर्ने तथा रोयल्टी बुझ्ने सम्बन्धी कार्य, काउन्टर अटोमेशन सेवा, लगायतका कार्यहरु सम्पादन गर्ने जिम्मेवारी पाएको छ । यसका अतिरिक्त राष्ट्रिय सूचना आयोग र विज्ञापन बोर्डले प्रत्यायोजित जिम्मेवारी अनुरुप यस हुलाक कार्यालयले आफ्नो जिल्लाभित्रका सबै सार्वजनिक निकाय तथा कार्यालयहरुले नियमानुसार सूचनाको हक सम्बन्धी व्यवस्थाहरुको कार्यान्वयन गरे नगरेको विषयमा अनुगमन गरी प्रतिवेदन गर्ने कार्य र छापामाध्यम एवं विद्युतीय संचार माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी सिफारिस, अनुगमन, नियमन तथा सोको भुक्तानी गर्ने कार्य समेत गर्ने गर्दछ ।